Punya Prasad Acharya

प्रधानाध्यापकको कलमबाट

“सा विद्या या विमुक्तये”

(त्यो विद्या नै सत्य विद्या हो, जसले मानवलाई अज्ञानताको बन्धनबाट मुक्त गर्छ ।)

सिन्धुपाल्चोक जिल्लाको शैक्षिक, सांस्कृतिक तथा आध्यात्मिक चेतनाको केन्द्रका रूपमा स्थापित श्री सिपातीनघरे संस्कृत माध्यमिक विद्यालय / श्री सिपातीनघरे संस्कृत गुरुकुल को तर्फबाट सम्पूर्ण अभिभावक, विद्यार्थी, दाता महानुभाव, शुभेच्छुक तथा आगन्तुकहरूप्रति हार्दिक अभिनन्दन व्यक्त गर्दछु । पूर्वीय दर्शनले मानव जीवनलाई संस्कार–साधना–सेवा को त्रिसूत्रमा बाँध्छ भने आधुनिक विज्ञानले तर्क–प्रयोग–प्रविधिको माध्यमबाट जीवनलाई व्यवहारिक बनाउँछ । हाम्रो विद्यालयले यही दुई धारलाई समन्वय गर्दै शिक्षालाई केवल ज्ञानको सङ्कलन नभई चरित्र निर्माण, सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माणको आधारका रूपमा विकास गर्दै आएको छ ।

हाल यस विद्यालयमा बालकक्षादेखि कक्षा १२ सम्म संस्कृत तथा साधारण धारमा अध्ययन–अध्यापन सञ्चालनमा छ । संस्कृत धार अन्तर्गत वेद, रुद्री, श्रीमद्भागवत, श्रीमद्भगवद्गीता, व्याकरण, कर्मकाण्ड, योग, ज्योतिषजस्ता विषयहरूद्वारा आध्यात्मिक चेतना विकास गरिन्छ भने साधारण धार अन्तर्गत नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक र कम्प्युटर शिक्षामार्फत वैज्ञानिक सोच र आधुनिक सीप अभिवृद्धि गरिन्छ । यस विद्यालयको आत्मा भनेकै यसको आवासीय गुरुकुल पद्धति हो । हाल ३५ जना वटुकहरू गुरुकुल जीवनमा आबद्ध छन् । गुरुकुल जीवनले विद्यार्थीहरूमा अनुशासन, संयम, साधना, सेवा भावना र नैतिक मूल्यको विकास गराउँदै ज्ञानलाई आचरणमा रूपान्तरण गर्ने अवसर प्रदान गर्दछ ।

“न गुरोरधिकं तत्त्वं, न गुरोरधिकं तपः” भन्ने गुरुवाणी यहाँ व्यवहारमा उतारिएको छ।

विद्यालयको भौतिक र शैक्षिक पूर्वाधार दाता महानुभावहरूको पुण्यकर्म र दीर्घदृष्टिको प्रतिफल हो । नेपाल–भारत मैत्रीको प्रतीकस्वरूप निर्मित २० कोठे पक्की भवन, नेपाल बैंक लिमिटेड तथा एनआरएन अमेरिकाको सहयोगमा निर्मित गुरुकुल आवासीय भवन, Help Nepal Network (अष्ट्रेलिया) द्वारा स्थापित ई–लाइब्रेरी, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, योग कक्ष, पुस्तकालय, नर्स सहितको प्राथमिक उपचार कक्ष, खाजा भान्सा तथा खेलकुद संरचनाहरूले विद्यालयलाई परम्परा र प्रविधिको संगमस्थल बनाएको छ । यी संरचनाहरू केवल इँटा–ढुंगाका भवन होइनन्, यी विद्याको प्रयोगशाला, संस्कारको प्रयोगस्थल, र भविष्य निर्माणको वैज्ञानिक आधार हुन् । दान यहाँ उपकार होइन, राष्ट्रको मानव पूँजीमा गरिएको दीर्घकालीन लगानी हो भन्ने सत्यलाई दाता महानुभावहरूले व्यवहारमा उतार्नुभएको छ । विद्यालय सञ्चालनका लागि स्थापना गरिएको रु. २० लाखको अक्षय कोष ले दीर्घकालीन स्थायित्व र आत्मनिर्भरताको वैज्ञानिक सोचलाई प्रतिबिम्बित गर्दछ । निःशुल्क आवासीय सुविधा र छात्रवृत्तिले आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूलाई पनि समान अवसर प्रदान गरेको छ ।

शैक्षिक सत्र २०८२ मा १२० जना विद्यार्थीहरू अध्ययनरत छन् । देशका गोरखा, रामेछाप, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, सिराहा, रौतहट लगायत विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरूले यहाँ एकताको अभ्यास र विविधताको सम्मान सिकिरहेका छन् ।

गत शैक्षिक सत्रमा विद्यालयले निम्न उल्लेखित सफलता हासिल गरेको छः

  • एसइई परीक्षामा शतप्रतिशत सफलता,
  • कक्षा १२ मा सम्पूर्ण विद्यार्थी उत्तीर्ण
  • कक्षा ८ को गाउँपालिका स्तरीय परीक्षामा प्रथम स्थान

यी उपलब्धी हासिल गर्नुले हाम्रो शैक्षिक दर्शन व्यवहारिक रूपमा सफल भएको प्रमाणित गर्दछ ।

शिक्षित, सचेत र उत्तरदायी अभिभावक, अनुशासित तथा जिज्ञासु विद्यार्थी, कर्मठ शिक्षक समूह, सक्रिय विद्यालय व्यवस्थापन समिति, गुरुकुल व्यवस्थापन समिति तथा उदार दाता महानुभावहरूको सामूहिक सहकार्यले विद्यालयलाई इन्द्रावती गाउँपालिका भित्र मात्र नभई जिल्लाकै नमूना शैक्षिक संस्थाका रूपमा स्थापित गरेको छ । पूर्वीय आध्यात्मिक चेतना र आधुनिक वैज्ञानिक सोचको समन्वयबाट दीक्षित यस विद्यालयका विद्यार्थीहरू आज प्रशासन, सुरक्षा निकाय, शिक्षा, वित्त, पत्रकारिता, कृषि, सामाजिक सेवा तथा निजी क्षेत्रमा सफल भई विद्यालयको गौरव र दाताको पुण्य स्मरणीय बनाइरहेका छन् ।

अन्त्यमा,
विद्यालयको वर्तमान उचाइ र भविष्यको उज्यालो यात्राका लागि योगदान पुर्‍याउनु हुने सम्पूर्ण दाता महानुभावहरू, संघ–संस्था, अभिभावक, समुदाय तथा शुभेच्छुकहरू प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । तपाईंहरूको सहयोगले यहाँ केवल विद्यार्थी होइन, संस्कारयुक्त नागरिक र राष्ट्रका आधारस्तम्भहरू निर्माण भइरहेका छन् ।

“उत्तिष्ठत जाग्रत, प्राप्य वरान्निबोधत ।”

धन्यवाद ।

पुण्यप्रसाद आचार्य

प्रधानाध्यापक

श्री सिपातीनघरे संस्कृत माध्यमिक विद्यालय
श्री सिपातीनघरे संस्कृत गुरुकुल

परिचय

इन्द्रावती–६, सिन्धुपाल्चोकमा अवस्थित सिपातीनघरे संस्कृत माध्यमिक विद्यालय, वैदिक संस्कार र आधुनिक प्रविधिको संगम भएको एक प्रतिष्ठित विद्यालय हो। हामी हाम्रा  विद्यार्थीहरूलाई व्यावहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष एवं चरित्रवान् नागरिक बनाउन समर्पित छौँ।

थप जानकारी

About Us

Infrastructures

Community

Mission & Visions

Teacher-Staffs

जोडिनुहोस्

Classes

Events

Programs

सम्पर्कः

© 2025 Trikuteshwori Secondary School