हाम्रो बारे

विद्यालय परिचय

सिपातीनघरे संस्कृत मा.वि.

“सा विद्या या विमुक्तये”

सिन्धुपाल्चोक जिल्लाको शैक्षिक, सांस्कृतिक तथा आध्यात्मिक गौरवका रूपमा स्थापित श्री सिपातीनघरे संस्कृत माध्यमिक विद्यालय ( श्री सिपातीनघरे संस्कृत गुरुकुल ) जिल्लाकै एकमात्र आवासीय गुरुकुल सहितको संस्कृत विद्यालय हो । पूर्वीय दर्शन, वैदिक संस्कार र आधुनिक शैक्षिक प्रविधिको समन्वय गर्दै यस विद्यालयले शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी जीवनोपयोगी, चरित्र निर्माणमुखी र राष्ट्र निर्माणसँग जोडिएको बनाउँदै आएको छ । यस विद्यालयमा हाल बालकक्षादेखि कक्षा १२ सम्म संस्कृत धार र साधारण धार दुवै तर्फ अध्ययन अध्यापन सञ्चालनमा छ । संस्कृत तर्फ संस्कृत भाषा, संस्कृत व्याकरण, वेद, रुद्री, श्रीमद्भागवत, योग, कर्मकाण्ड लगायतका विषयहरू तथा साधारण तर्फ नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, कम्प्युटर आदि विषयहरू समसामयिक पाठ्यक्रमअनुसार अध्यापन गरिन्छ ।

school_building
विद्या ददाति विनयं, विनयाद् याति पात्रताम्।
 पात्रत्वात् धनमाप्नोति, धनात् धर्मं ततः सुखम्॥
 

यस विद्यालय अन्तर्गत सञ्चालित आवासीय गुरुकुल पद्धति यसको विशिष्ट पहिचान हो । हाल गुरुकुलमा ३५ जना वटुकहरू दैनिक आवासीय रूपमा अध्ययनरत छन् । गुरुकुल शिक्षाअन्तर्गत वेद, रुद्री, श्रीमद्भागवत, श्रीमद्भगवद्गीता, ज्योतिष लगायतका शास्त्रीय विषयहरूको गहन अध्ययन गरिन्छ । गुरुकुल जीवनमार्फत विद्यार्थीहरूमा अनुशासन, संयम, साधना, सेवा भावना तथा नैतिक मूल्यहरूको विकास गराइन्छ ।

namaskar
student_health_sipatinghareschool

न गुरोरधिकं तत्त्वं न गुरोरधिकं तपः। 

तत्त्वज्ञानात् परं नास्ति तस्मै श्रीगुरवे नमः॥ 

 

शैक्षिक सत्र २०८२ मा १२० जना विद्यार्थीहरू भर्ना भई हाल विद्यालयमा बालकक्षादेखि कक्षा १२ सम्म नियमित पठनपाठन भइरहेको छ । यहाँ ब्राह्मण, क्षेत्री, जनजाति, दलित लगायत सबै वर्ग र समुदायका विद्यार्थीहरूले समान अवसरका साथ संस्कृत, पूर्वीय दर्शन तथा आधुनिक विषयहरूको अध्ययन गर्न पाएका छन् । गोरखा, रामेछाप, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, सिराहा, रौतहट लगायत देशका विभिन्न जिल्लाबाट विद्यार्थीहरू अध्ययनका लागि आउने गरेका छन् । विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरूका लागि निःशुल्क आवासीय सुविधा तथा छात्रवृत्तिको व्यवस्था गरिएको छ, जसले अभिभावकहरूको आर्थिक तथा सामाजिक व्ययभार कम गर्नुका साथै विद्यार्थीहरूको अध्ययनमा थप सहजीकरण गरेको छ । सिन्धुपाल्चोक जिल्लाकै ऐतिहासिक एकमात्र आवासीय गुरुकुल सहितको संस्कृत विद्यालय भएकाले यस विद्यालयलाई सहयोग गर्ने संघसंस्था तथा दातृ निकायहरूको उल्लेखनीय साथ रहेको छ । विद्यालय सञ्चालनका लागि रु. २० लाखको अक्षय कोष स्थापना गरिएको छ ।

group_one

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । 

सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्भवेत् ॥

 

विद्यालयमा नेपाल–भारत मैत्री २० कोठे पक्की भवन, नेपाल बैंक लिमिटेडद्वारा निर्मित गुरुकुल आवासीय भवन, Help Nepal Network द्वारा स्थापित ई–लाइब्रेरी, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, योग शिक्षा, खाजा भान्सा, खेलकुद, नर्स सहितको प्राथमिक उपचार लगायतका भौतिक तथा शैक्षिक पूर्वाधारको व्यवस्था रहेको छ। विद्यालयले पूर्वीय दर्शनलाई आधुनिक प्रविधिसँग जोड्दै विद्यार्थीहरूलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि सक्षम बनाउँदै आएको छ । यस विद्यालयमा सर्वप्रथम आचार्यका रूपमा दामोदर उपाध्याय द्वारा शिक्षण आरम्भ गरिएको ऐतिहासिक पृष्ठभूमि रहेको छ। हाल प्रतिस्पर्धात्मक शैक्षिक परिवेशमा समेत विद्यालयले इन्द्रावती गाउँपालिका भित्र अन्य विद्यालयहरूलाई पछि पार्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । 

गत शैक्षिक सत्रमा:

• एसइई परीक्षामा शतप्रतिशत उत्तीर्ण, 

• कक्षा १२ मा सम्पूर्ण विद्यार्थी उत्तीर्ण, 

• कक्षा ८ को गाउँपालिका स्तरीय परीक्षामा प्रथम स्थान हासिल गर्न सफल भएको छ । 

sanskrit_education_in_nepal

उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत।

 

विद्यालयका अभिभावकहरू शिक्षित, सचेत तथा सक्रिय छन्। उनीहरू नियमित अनुगमन, परामर्श, छलफल र गोष्ठीमार्फत विद्यालयको शैक्षिक गुणस्तर सुधारमा निरन्तर सहयोग गर्दै आएका छन् । विद्यार्थीहरू अनुशासित, लगनशील र जिज्ञासु छन् भने प्रधानाध्यापकको लोकतान्त्रिक, न्यायप्रेमी र कुशल नेतृत्व, सक्षम शिक्षक तथा सहयोगी प्रशासनिक निकायको सहकार्यले विद्यालयलाई गाउँपालिका भित्र उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सफल भएको छ । पूर्वीय आध्यात्मिकता र आधुनिक ज्ञानको सन्तुलित संयोजनबाट उत्पादित यस विद्यालयका विद्यार्थीहरू आज नेपाल सरकारका उच्च पद, सुरक्षा निकाय, प्रशासन, शिक्षा, वित्तीय क्षेत्र, पत्रकारिता, निजी क्षेत्र, कृषि तथा सामाजिक सेवाका विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्दै विद्यालयको गौरव उच्च बनाइरहेका छन् ।

समूदायको तर्फबाट

अभिभावकहरुको विचार

परिचय

इन्द्रावती–६, सिन्धुपाल्चोकमा अवस्थित सिपातीनघरे संस्कृत माध्यमिक विद्यालय, वैदिक संस्कार र आधुनिक प्रविधिको संगम भएको एक प्रतिष्ठित विद्यालय हो। हामी हाम्रा  विद्यार्थीहरूलाई व्यावहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष एवं चरित्रवान् नागरिक बनाउन समर्पित छौँ।

थप जानकारी

About Us

Infrastructures

Community

Mission & Visions

Teacher-Staffs

जोडिनुहोस्

Classes

Events

Programs

सम्पर्कः

© 2025 Trikuteshwori Secondary School